सन्तोष न्यौपाने÷झापा 

आर्थिक मन्दिको असरका कारण आन्तरीक राजश्व कार्यालय भद्रपुरको राजश्व संकलन प्रभावित बनेको छ ।  कार्यालयले चालु आर्थिक बर्षको १० महिनामा लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकेको हो ।  

कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि वैशाख मसान्तसम्म १० महिनामा २  अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । जुन कुल लक्ष्यको तुलनामा ८२ दशमलब ३० प्रतिशत हुन्छ । कार्यालयले चालु आवको १० महिनामा २ अर्ब ८९ करोड ४७ लाख ३२ हजार राजश्व संकलनको लक्ष्य पाएको थियो । अघिल्लो आर्थिक बर्षको यो अवधि भन्दा यो चालु आवको १० महिनामा कार्यालयले ५ दशमलब १८ प्रतिशत प्रगती हासिल गर्न सफल भएको हो । तर  उद्योग– व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेले बताए । 

कार्यालयले आयकरबापत १ अर्ब ११ करोड ८६ लख १२ हजार, बहाल करबापत २ करोड ३६ लाख ६८ हजार, ब्याज करबापत ६ करोड ८९ लाख , अन्तःशुल्कबापत ३१ करोड ९७ लाख ६४ हजार, मूल्य अभिवृद्धि करबापत रु ८४ करोड ६७ लाख ४० हजार राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।  

राजश्व संकलनमा बढवा दिन करदाता सचेतना अभिवृद्धिकालागि  सरोकारवालाहरुसँग अन्तरक्रिया र  करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिंदै आइएको कार्यालयले जनाएको छ । 

ताप्लेजुङ, पाँचथर, इलाम जिल्ला र झापाको मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र केचनाकवल गाउँपालिका कार्यालयको कार्यक्षेत्र रहेको छ ।

झापाका धेरै सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् । भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व सङ्कलनको लक्ष्य प्रभावित भएको प्रमुख कर अधिकृत काफ्ले बताउंछन् ।