झापा 

झापाको बिर्तामोडमा जेठ ६ गतेदेखि ११ गतेसम्म चलचित्र महोत्सव २०८१ आयोजना हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यसाथ महोत्सव हुन लागेको आज आयोजित पत्रकार भेटघाटमा नेपाल चलचित्रकर्मी संघ कोसी प्रदेशका महासचिव रमेश तिवारीले जानकारी दिए । 

स्थानीय व्यवस्थापक नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अनुसार महोत्सवको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा महोत्सव हुन लागेको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङ जानकारी दिए ।

उनका अनुसार महोत्सवमा कोसी प्रदेशमा निर्माण भएका चलचित्र प्रदर्शन गरिने छ ।  बिर्तामोडमा महोत्सव उद्घाटन हुने र बाँकी कार्यक्रम बिराटनगरमा हुने जनाइएको छ । महोत्सवमा विभिन्न जाति तथा समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिने बताइएको छ । 

चलचित्र क्षेत्रमा विकास भएका नयाँ प्रविधि, सिर्जना, सीप, कला र शैलीका बारेमा अध्ययन तथा अनुसन्धान गर्न, विभिन्न मुलुकबीच चलचित्रको माध्यमबाट सांस्कृतिक क्षेत्रको अनुभव आदानप्रसाद गर्न वा संयुक्त रुपमा लगानी गरी चलचित्र निर्माण गर्ने काममा उत्प्रेरित गर्ने महोत्सवको उद्देश्य रहेको छ ।