कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि र उद्योगलाई सँगसँगै विकास गरेर लैजान आवश्यक रहेको बताएकी छन् । झापाको मेचीनगर–१४ स्थित सिंगापुर बेभरेज प्रालिको आज निरीक्षण गर्दै कृषि मन्त्री साहले कृषि क्षेत्रको विकास लागि उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताइन् ।
“मावन स्वस्थ्यसँग जोडिएको स्वस्थ्यकर र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न जरुरी छ”, उनले भनीन, “विभिन्न कार्यक्रमको माध्यमबाट कृषिसँग जोडिएका उद्योगलाई प्रोत्साहन गर्नुपर्छ, म मन्त्री भएको हैसियतले पनि बेलाबेलामा छलफल पनि गरिरहेको छु ।” उद्योगीलाई प्रोत्साहन गर्न देशभरि अभियानका रुपमा लैजानुपर्नेमा उनको जोड छ ।
खाद्यवस्तुको गुणस्तरको नियमन र सुधारका लागि सरकारले सदनबाट खाद्य स्वास्थ्य गुणस्तर विधेयकका लागि नियमावली पास भएको बताउँदै त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको उल्लेख गरीन् । हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारका बारेमा उनले जानकारी लिएकी थिइन् ।
“यसले गुणस्तरहीनको नियमन र नियन्त्रण सहज हुन्छ”, उनले भने, “गलत गर्नेलाई कडा कारबाही गर्नुपर्छ ।” निरीक्षणका लागि आएकी मन्त्री साहले उद्योगी–व्यवसायीले आफ्ना समस्या राखेका थिए ।
भारत, बंगलादेश, थाइल्याण्ड लगायतका मुलुकबाट जुसका नाममा ‘फ्लेबर’ भएको पेय पदार्थ आयात गरिँदा नेपाली उद्योगी मारमा परेको सिंगापुर बेभरेजका प्रबन्ध निर्देशक आशिष शर्माले बताए ।
“फ्लेबर मात्र भएको पेय पदार्थ नेपालमा आयात गर्न पाइँदैन”, उनले भने , “तर बजारमा छ्याप्छ्याप्ती त्यस्ता पेय पदार्थ पाइन्छ ।” सरकारले त्यस्तो कार्यको नियमन र अनुगमन गर्दा नेपाली उद्योगी–व्यवसायी मारमा परेको उनको भनाई छ ।
सात वर्षअघि स्थापना भएको सिंगापुर बेभरेजले ३० वटा भन्दा बढी प्रकारका पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको छ ।
८० करोड लगानी पुगिसकेको उद्योगमा हाल तीन सय ५० जनाले रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित पेय पदार्थ युरोप, अमेरिका लगायत विभिन्न ३५ वटा मुलुकमा निर्यात हुँदै आएको छ ।