बिर्तामोड : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा प्रादेशिक कृषि व्यापार प्रवर्धन रणनीति खाका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 प्रदेशको कृषि व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आज झापाको बिर्तामोडमा कार्यक्रमको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य बिनोद बस्नेतले जानकारी दिए । 

कृषि उत्पादनको बजारीकरण र मूल्य अभिवृद्धिमा रहेका समस्याले कृषि क्षेत्र आकर्षक क्षेत्रको रुपमा विकास हुन नसकेको भन्दै त्यसको सहजताकालागि बस्तुगतसंगका अध्यक्ष तथा पदाधिकारीहरुसंग कार्यक्रम गरिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणी पोखरेलले बताए । 

कार्यक्रमका सहभागिहरुले  चिया, अलैची अदुवा जस्ता प्रदेशका निर्यात योग्य वस्तुको गुणस्तर प्रमाणीकरण केन्द्र प्रदेशभित्र नहुनु, कोलस्टोर नहुनु , गोदाम घर अभाव लगायतका समस्याका कारण  भारत निकासीमा विभिन्न व्यवधान भोग्न परिरहेको बताएका थिए ।

सहभागिले भारत बाहेकको बजार पहिचान र बजारको विविधिकरणमा राज्यबाट आवश्यक भूमिका निर्वाह हुन नसक्दा गुणस्तरीय नेपाली उत्पादन भारतीय उत्पादनको रुपमा बाहिर जाने गरेकाले नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन नसकेको अवस्थालाई अब बन्ने प्रादेशिक कृषि व्यापार रणनीतिले समेट्न सक्नु पर्ने बताए । 

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले प्रादेशिक कृषि व्यापार रणनीतिको खाका प्रस्तुत गर्दै नेपालको कुल निर्यातको करिब ४५ प्रतिशत कोशी प्रदेशको हिस्सा रहेको अवस्थामा बजारको निकटताको हिसाबले यो प्रदेशले उच्च सम्भावना बोकेको बताए । 

यस प्रदेशमा बन्दै  गरेका सडक पूर्वाधारहरूलाई आर्थिक करिडोरको रूपमा विकास गर्नुपर्ने बताउँदै उनले प्रदेशबाट २१ वटा कृषि जन्य निर्यातका सम्भाव्य वस्तु पहिचान गरिएको जानकारी दिए ।  

कार्यक्रममा टिम लिडर डाक्टर रामचन्द्र बस्ताकोटीले रणनीतिको खाकाबारे थप प्रकाश पारेका थिए ।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटी,  नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायण चिमरीया, उपाध्यक्ष पार्वता बिमली खरेल, कार्यकारी अधिकृत अनिल ढुङ्गाना, चेम्बर अफ कर्मशका ओमकृष्ण बिमली, चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली, चिया व्यवसायी गोपाल दाहाल लगायतले आ आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश निवर्तमान अध्यक्ष टिकाराज ढकाल, सदस्य याम श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमारमणी पोखरेलको अध्यक्षतामा भएको थियो ।