अर्जुनधारा :  झापाको अर्जुनधारा नगरपालिकाका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

अर्जुनधारा–९ को कालिस्थान माध्यमिक विद्यालय र अर्जुनधारा–१० को सिंहबाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण गरिएको हो । मनराम हिमालय हेन्डिक्रयाफ्ट प्रालि अन्तरगत लायन्स मनोरम प्रतिष्ठान २००५ को आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिकाले ती विद्यालयमा तीन लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कालिस्थान माविका ३३५ जना विद्यार्थीलाई एक हजार ७ सय ३ थान कापी, २७५ वटा पेन्सिल, एक सय १० वटा साप्नर, ११० वटा इरेजर र ९ सय वटा डटपेन वितरण गरिएको छ भने सिंहबाहिनी आविका १३० जना विद्यार्थीलाई ५६६ थान कापी, ५०० वटा पेन्सिल, २०० वटा साप्नर, २०० वटा इरेजर र एकसय ५० वटा डटपेन वितरण गरिएको छ ।

image-18-1024x473 1

अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा–१० का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, मनराम अन्तरगतको लायन्स क्लवका संस्थापक राजेन्द्रकुमार श्रेष्ठ र कम्पनीका प्रतिनिधि बसन्त पौडेलले संयुक्त रुपमा उक्त बिद्यालयका शैक्षिक सामाग्री वितरण गरेका नगर प्रमुख बलदेवका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री वितरण गरेको बताइएको छ ।

उक्त संस्थाले झापा, इलाम, पाँचथर, धनकुटा, संखुवासभा लगायतका जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत शैक्षिक सामाग्री वितरण गरिरहेको जनाइएको छ ।