शनिश्चरे । झापाको अर्जुनधारा नगर खेलकुद विकास समितिले स्थानीय दुई जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हालै पोखरामा सम्पन्न यु १५ राष्ट्रियस्तरीय विद्यालय खेलकुद प्रतियोगितामा पदकधारी दुई जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।

अर्जुनधारा ३ स्थित जनता माविको कक्षा १० मा अध्ययनरत निकिता एक्तेन लिम्बू र राजन बान्तवा राईलाई नगर खेलकुद समितिले नगद ५५ हजारसहित सम्मान गरेको हो ।

निकिताले लङ जम्प र रिले रेसमा दोस्रो स्थान तथा १०० मिटर दौडमा दोस्रो स्थान हासिल गरेकोमा उनीहरुलाई समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

उनीहरुलाई नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायतले नगद प्रदान गरेका हुन् । खेल जगतले व्यक्तित्व विकाससँगै समाज र राष्ट्रको गरिमा उच्च राख्ने भएकाले खेलकुदलाई अनिवार्य गराउनुपर्नेमा नगर प्रमुख गोम्देनले जोड दिए ।

यसैगरी, उपप्रमुख पराजुलीले नगरबाट सकेसम्म खेलकुद गतिविधिलाई बढावा दिँदै खेलाडीलाई प्रोत्साहन गर्ने कार्य अघि बढिरहेको बताइन् । कार्यक्रमको सञ्चालन सदस्य सचिव खगेन्द्र लिङदेनले गरेका थिए ।