बिर्तामोड । 

झापाको शनिश्चरे–बिर्तामोड सडक खण्ड कालोपत्रे सुरु भएको छ । आज आइतबारदेखि जीर्ण रहेको सडक खण्ड दासपुलदेखि कप्तानबारीसम्म कालोपत्रे सुरु भएको हो । 

लामो समयदेखि सडक निर्माण नहुँदा त्यस क्षेत्रका स्थानीय तथा सो सडक भएर यात्रा गर्ने यात्रुले धुलो र हिलोको सास्ती खेप्दै आएका थिए ।  

निमार्ण कम्पनीले मंगलबार सम्ममा डेढ किलोमिटरको त्यस खण्ड पूरा गर्ने जनाएको छ ।  पूर्व संघीय सांसद पवित्रा निरौलाको पालामै सडक बनाउन तय भएको तर बजेट विनियोजन नभएकाले लामो समयदेखि सडक निर्माण हुन नसकेको अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनले बताए । 

लामो समय सम्म सडक नबन्दा स्थानीयले धेरै सास्ती बेर्होनु परेको समेत नगर प्रमुख गोम्देनले बताए ।  नगरले दैनिक भत्कीएको सडकमा धुलो मार्नकालागि पानीको टयाङ्कर पठाइएको समेत स्मरण गरे । 

तर, सडक निर्माण नहुँदा मेयरले काम गरेन भनेर जनगुनासो समेत आएको उनले स्मरण गरे । रणनीतिक सडक निर्माणका लागि वर्तमान संघीय सभामुख देवराज घिमिरेको पहलमा बजेट निकासा भएपछि कालोपत्रे कार्य सुरु भएको उनको भनाइ छ । लामो समय सडक नबनेपछि स्थानीयले ढाट लगाएर सडक अबरुद्ध गरेको  र आफूले बनाएरै छाड्ने प्रतिबद्धतापछि स्थानीयले साथ दिएको उनले सुनाए ।

सडक निर्माण गर्नका लागि ‘प्रविण मैनाचुली शान्ति’ जेभीले ठेक्का पाएको थियो ।  समयमा रकम निकासा नहुँदा निर्माण कार्य समयमै गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । 

तर, सभामुख देवराज घिमिरे र नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा आंशिक रकम निकासा भएपछि पहिलो चरणमा १.५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न गर्न लागिएको उनले बताए ।

गत जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा ठेक्का लागेको सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले समयमा भुक्तानी गरेको थिएन । 

१५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको सो सडक बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्तानसम्म ६ दशमलब २ किलोमिटरको हुने छ । बिर्तामोडदेखि दासपुलसम्म दुई लेन, दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ । 

यसअघि सडकमा सवारी साधन चलाउन नसक्ने गरी खाल्डा खुल्डी भएका कारण कतिपटक सवारी साधन दुर्घटनामा परेका थिए । स्थानीयले सडक निर्माण गर्न दवाब दिने उदेश्यले पटक–पटक सडक अवरुद्ध गर्दै आएका थिए । सडक अवरुद्ध भएपछि सवारी साधनले लामो समयदेखि बैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।