बिर्तामोड
बिर्तामोडका दुई दर्जनभन्दा बढी पसलहरुमा बर्षाका कारण क्षति भएको छ । हिजो रातिको भारी वर्षाले बिर्तामोडको विशाल मार्केट र प्रसाईं मार्केटका २५ वटा पसलमा पानी पसेपछि पसलमा बिक्रीका लागि राखिएका बिभिन्न सामग्रीहरुमा क्षति पुगेको हो ।
विशाल मार्केटका १८ र प्रसाईं मार्केटका आठवटा पसलमा पानी पसेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव तथा प्रबक्ता कुशल खतिवडाले जानकारी दिए ।
पसलमा पानी पसेपछि हरेक व्यवसायीहरुको २० हजारदेखि डेढ लाखसम्म क्षति भएको छ । कपडा, जुत्ता, धागो, कस्मेटिक पसलहरुमा पानी पसेर क्षति पुगेको हो ।
पानीले क्षति पुगेपछि नगरपालिकालाई जानकारी गराइएको खतिवडाको भनाइ छ । ड्रेन जाम भएकाले पानी निकास नहुँदा पसलहरुमा पानी पसेको बताइएको छ । उनले सबै व्यवसायीहरुलाई क्षतिको विवरण जानकारी गराउन आग्रह गरेको बताए ।