नेपाल मास्टर्स अफ स्नुकरको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् । बिर्तामोड स्नुकरको आयोजनामा गत असार १५ गतेदेखि शुरु भएको राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि लामाले जितेसँगै नगद २ लाख रुपैयाँसहित ट्रफी हात पारेका छन् ।

आज भएको फाइनल खेल पछिको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास राज्य मन्त्री सिर्जना राईले लामासहित विजेता खेलाडीहरुलाई नगद र ट्रफी प्रदान गरिन् ।

स्नुकर नेपाल मास्टर्स प्रतियोगितामा काभ्रेका वाङ्चु आले तामाङ द्वितीय र हायसब्रेकर भए । उनले द्वितीय पुरस्कार ८० हजार हायस ब्रेकरको पुरस्कार ५० हजार नगद र ट्रफी प्राप्त गरे ।

त्यस्तै, सेमी फाइनलिस्टमा बुटबलका रेगन श्रेष्ठ र पोखराका सोम विश्वकर्माले २०÷२० हजार रुपैयाँ पुरस्कार पाए । बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राईले नेपालमा पहिलो पटक ठूलो पुरस्कार राशीको स्नुकर खेल हुनुले कोशी प्रदेशकै गौरव बढेको बताइन् ।

खेलकूदले बौद्धिक विकासका साथै सामाजिक र शारीरीक रुपमा फाइदा पुग्ने बताउँदै उनले सरकारले स्नुकर खेलको विकासका लागि सकेको सहयोग गर्ने आश्वासन दिइन् ।

WhatsApp Image 2024-07-11 at 06.21.09

कार्यक्रममा बिर्तामोड क्षेत्रमा स्नुकर खेल भित्र्याउने सञ्जय राई, स्नुकर भेट्रान खेलाडी चित्रप्रकाश राई, रेजिना पाण्डे, बिर्तामोड खेलकुद विकास समितिका सदस्य विशाल अग्रवाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड स्नुकरकी आशा गुरुङले गरेकी थिइन् ।

प्रतियोगितामा नेपालका टप १६ राष्ट्रिय स्नुकर खेलाडीेसहित कोशी प्रदेशका ८ जना र स्थानीय ८ जना गरेर ३२ जना खेलाडीको सहभागिता रहेको थियो ।