बिर्तामोड : झापाको बिर्तामोड–५ स्थित द रिजेन्सी हस्पिटालिटी कलेज अफ होटल म्यानेजमेन्टले डीप्लोमा इन होटल म्यानेजमेन्टको कक्षा सञ्चालनमा ल्याएको छ ।
हस्पिटालिटीको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित कलेजले एक वर्षे डीएचएम कक्षा सञ्चालनमा ल्याएको हो । बुधबार एक औपचारिक कार्यक्रमका बीच कक्षा सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका–५ का वडा सदस्य दुर्गाप्रसाद शिवाकोटीले युवाको बढ्दो विदेश पलायन रोक्न स्वदेशमै टिक्न र बिक्न सक्ने शिक्षा वर्तमानको आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा अतिथि हस्पिटालिटीका निरज श्रेष्ठले हस्पिटालिटी क्षेत्रमा दक्ष कामदारको माग बढ्दै गएको बताए ।
कार्यक्रमको औचित्य र स्वागत मन्तव्य राख्नु हुँदै कलेजका संस्थापक तथा कार्यक्रम निर्देशक रोहित ओझाले कलेजबाट स्तरीय शिक्षा दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बिर्तामोड–५ का वडा सदस्य मालती बिक लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ झापाका महासचिव शिव पौडेलले गरेका थिए ।