बिर्तामोड : सहारा नेपालले दुई लाख ५० हजारवटा आँपका बिरुवा वितरण गर्ने भएको छ । कार्बन उत्सर्जन न्यूनीकरण परियोजनाअन्तर्गत आँपको व्यावसायिक खेतीका लागि तीनवटा प्रदेशमा सहारा नेपालले अढाइ लाख बिरुवा वितरण गर्न लागेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए ।
कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका कृषकहरुलाई आँपको व्यावसायिक खेती गर्न बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराइने संस्थाले जनाएको छ ।
बिरुवा प्राप्त गर्न सहारा नेपालले मापदण्डसमेत बनाएको छ । न्यूनतम जग्गाको क्षेत्रफल ५ कट्ठा वा सोभन्दा बढी भएका कृषकलाई मात्र बिरुवा दिइनेछ ।
त्यस्तै, जग्गादर्ता धनीपुर्जा भएको निजी जग्गा हुनुपर्ने, ऐलानी जग्गा भए उक्त जग्गा आफ्नो स्वामित्वमा रहेको नेपाल सरकारको निस्सा हुनुपर्नेछ ।
जग्गाधनीको नेपाली नागरिकताको प्रमाणपत्र र बैंक खाता हुनुपर्ने, संस्थाले निःशुल्क दिएको बिरुवा हुर्काउने जिम्मा सम्बन्धित कृषकको हुनेछ । बिरुवा न्यूनतम १० वर्षसम्म मास्न नपाइने संस्थाले जनाएको छ ।