झापाको अर्जुनधारा नगरपालिकाले आज (सोमबार) सार्वजनिक सुनुवाई गरेको छ ।   अर्जुनधारा नगरको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रालिको संयोजन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई भएको हो । 

सार्वजनिक सुनुवाईमा नगर क्षेत्रमा भए गरेका विकास, योजना, सेवा सुविधाका विषयमा सहभागीले प्रश्न गरेका थिए । अविरल वर्षका कारण विरिङ खोलामा आएको बाढीले अर्जुनधारा खुदुनाबारी सडक खण्डको सडक र पूलमा क्षति गर्दा आवातजावतमा समस्या भएको अर्जुनधारा २ का मुकुन्द भण्डारीले गुुनासो गरे ।

 यो सँगै वडा तथा नगरका जनप्रतिनिधि र कर्मचारीले सेवा प्रवाहमा ध्यान नदिएको उनले बताए ।  त्यस्तै, अर्जुनधारा १० का यज्ञबहादुर कडरियाले बुट्टाबारी–सालबारी–चिसापानी–कालिस्थान सडक खण्डको स्तरोन्नति गर्न माग गरे । यस्तै, अर्जुनधारा–११ का दीपक खड्काले लेखनदासको विषयमा जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनवाईमा पत्रकार पुष्प बरालले आम नागरिकको उपस्थिति न्यून रहेकाले सुधार गर्न सुझाव दिए । अर्का पत्रकार रमेश समदर्शी राईले संयोजनकर्ताले तयार पारेको प्रतिवेदनको शब्ददृष्यसहितको रिपोर्ट भए अझ राम्रो हुने बताए ।

अर्जुनधारा नगरपालिका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले जिज्ञासाको जवाफ दिँदै आफूलाई सुझाव, प्रश्न गर्ने मानिस आफ्नो शुभचिन्तक भएको बताए ।

 उनले वास्तविकता नबुझ्दा र गलत कुरा बाहिर आउँदा नगरबासीमा अन्योल भएको बताए ।  विकास निर्माणमा आफूहरु प्रतिबद्ध भएको बताउँदै उनले नगरबासी प्रति आफूहरु जवाफदेही भएको बताए । खुदुनाबारी–अर्जुनधारा सडक खण्ड चाँडै निर्माण हुने नगर प्रमुख बलदेवले आश्वसन दिए ।

 कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुलीले चुनावमा गरेका प्रतिबद्धता अनुरुप काम गर्दै गएको बताइन् ।  प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले नगरबाट प्रवाह गरिने सेवा चुस्तदुरुस्त बनाउने प्रतिबद्धता जनाए ।

उनले काम गर्ने क्र्रममा कहिं कतै कमजोरी भए त्यसलाई सुधार गरिने आश्वास दिए ।