मेचीनगर : इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा एकजनालाई पक्राउ गरेको छ । झापा मेचीनगर— ६ काँकरभिट्टा निवासी रोशन मल्लिकलाई प्रहरीले पक्राउ गरेको हो । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल बिष्णुलाल पाण्डेको किर्ते हस्ताक्षर गरेर पटक पटक गरी चारलाख १८ हजार रूपैयाँ निकालेको भेटिएपछि विद्यालयको उजुरीका आधारमा मल्लिकलाई काँकरभिट्टा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मल्लिक अहिले काँकरभिट्टा प्रहरी हिरासतमा छन् ।
पहिलो पटक २०८० चैत ७ गते ४० हजार रुपैयाँ प्रधानाध्यापक न्यौपाने र लेखापाल पाण्डेको किर्ते हस्ताक्षर गरेर मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखाबाट पछिल्लो पाँच महिनामा २०औँ पटकसम्ममा उक्त चार लाख १८ हजार रुपैयाँ किर्ते हस्ताक्षर गरी निकालेको विद्यालयले जनाएको छ ।