झापा 

पहिचानको मुद्दालाई अघि सारेर अघि बढेका तीन वटा साना दलहरुको एकीकरणपछि निर्वाचन आयोगमा नेपाल जनमुक्ति पार्टी दर्ता भएको छ । 

झापाको बिर्तामोडमा बुधबार आयोजित पार्टी घोषणासँगै जिम्मेवारी हेरफेर भएको जनाइएको छ ।  राष्ट्रिय जनमुक्त पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल र लिम्बूवान राष्ट्रिय समिति (लोसपा) बीच भएको ६ बुँदे सहमतिपछि पार्टीको नाम नेपाल जनमुक्ति पार्टी भएको बताइएको छ ।

 पार्टीको प्रदेश कमिटी किरात लिम्बूवान, खम्बूवान प्रदेश परिषदको आयोजनामा भएको पत्रकार सम्मेलनमा पार्टीको नेतृत्व पनि सार्वजनिक गरिएको छ । 

एकीकरणसँगै पार्टी नेतृत्व ६९ सदस्य रहेको बताइएको छ । जसमा केन्द्रीय अध्यक्षमा बरिष्ठ नेता केपी पालुङ्वा रहेका छन् । यसैगरी, कार्यकारी अध्यक्षमा केशव सूर्यवंशी, उपाध्यक्षमा भक्तबहादुर खेवाङ, संरक्षकमा एमएस थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे, बरिष्ठ नेता डिके बुदिस्ट, पार्टी नेता सन्जुहाङ पालुङ्वा, उपमहासचिमा लासिम पालुङ्वा र सचिवमा एलबी पालुङ्वा रहेका छन् ।

त्यसैगरी राजकुमार नाल्वो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल साँवा, उमा मगर, आशा लिम्बू, सुकमाया लिम्बू सदस्यमा रहेका छन् भने तत्कालिन राष्ट्रिय जनमुक्ति पार्टीका सबै पदाधिकारी र सदस्यहरुको जिम्मेवारी यथावत रहेको पार्टीले जनाएको छ । बहुजातीय लोकतान्त्रिक समाजवाद र संघीय गणतान्त्रिक बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न बहुलराष्ट्रिय विद्रोहमार्फत्

जातीय÷राष्ट्रियमुक्ति क्रान्ति सम्पन्न गर्न सहमत भएर २०७९ फागुन २७ गते राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल र लिम्बूवान राष्ट्रिय समिति (लोसपा)बीच ६ बुँदे र २०८० मंसिर १९ गते ३ बुँदे सहमति भएर पार्टी एकता घोषणा भएको अध्यक्ष केपी पालुङ्वाले बताए । 

उनका अनुसार उक्त सहमतिलाई २०८१ वैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले अनुमोदन गर्दै जेठ २९ गते निर्वाचन आयोगबाट अध्यावधि भएपछि पार्टीको नाम संशोधन भई नेपाल जनमुक्ति पार्टी भएको हो ।