इलाम : यातायात व्यवस्था कार्यालय इलामले आर्थिक वर्ष २०८०÷८१ मा ११ करोड हाराहारीमा राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले  आब २०८०÷८१ मा  विभिन्न राजश्व शीर्षकबाट  १० करोड ९८ लाख ७४ हजार ३ सय ७३ रुपैंया संकलन गर्न सफल भएको हो । 

कार्यालयले आर्थिक बर्ष २०७९ ÷८० मा भन्दा आर्थिक बर्ष २०८०÷८१ मा ९५ लाख राजश्व बढोत्तरी गर्न सफल भएको हो ।  कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा दश करोड २ लाख ४१ हजार पाँच सय ८६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

कार्यालयले पशुपतीनगरमा ५ महिना अघि स्थापना गरेको  सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट मात्रै ४२ लाख ८५ हजार आठसय ५० रुपैया राजश्व संकलन हुंदा  बार्षिक राजश्व संकलनमा बढोत्तरी भएको कार्यालय प्रमुख खगेन्द्र प्रसाद मैनालीले जानकारी दिए ।  

कार्यालयले सवारी साधन कर तर्फ ८ करोड ४४ लाख ३२ हजार छ सय ७८ र व्यवसाय रजिष्ट्रेशन दर्ता दस्तुरबाट १३ हजार रुपैयाँ सङ्कलन गरेको हो । 

यस्तै चालक अनुमतिपत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १ करोड ९५ लाख ८५ हजार १५ रुपैया र यातायात क्षेत्रको आम्दानीबाट ५८ लाख ४३ हजार छ सय ८० रुपैयाँ सङ्कलन भएको कार्यालयका सुचना अधिकारी सुवर्ण खड्काले जानकारी दिए ।

यातायात व्यवस्थापनको कार्य गर्नका लागि तथा पहाडी जिल्लाका नागरिकको सहजताकालागि इलाममा यातायात व्यवस्था सेवा कार्यालय २०७१ सालमा स्थापना गरिएको  हो ।