झापा : झापाको अर्जुनधारा नगरपालिकामा ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तरगत यहाँका दुई वटा सामुदायिक वनलाई विभिन्न जातका बिरुवा हस्तान्तरण गरिएको छ ।
अर्जुनधारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम समेटेको यो कार्यक्रम अन्तरगत यहाँका अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वन र अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वनलाई पाँच सय विभिन्न जातको बिरुवा प्रदान गरिएको हो ।
उक्त बिरुवाहरु नेपाली सेनाको अरिदमन गण चारआलीले नगरपालिकालाई उपलब्ध गराएको हो । गणका गणपति प्राजु बस्नेत, अर्जुनधारा नगरपालिकाल नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली लगायतले र दुई सामुदायिक वनका पदाधिकारीहरुलाई बिरुवा हस्तान्तरण गरेका छन् ।
अरिदमन गणले अमला ४०० थान, तित्री १५०, हर्रो १०, बर्रो १४० र जामुनको ३०० वटा बिरुवा प्रदान गरेको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनलले सामुदायिक वनबाट निस्किने जंगली जनावर तथा चराचुरुङ्गीले आसपासका किसानले लगाएको बालीमा क्षति पु¥याउँदै आएकाले सोको न्यूनीकरणका लागि यहाँका सामुदायिक वनलाई बिरुवा वितरण गरिएको बताए ।
“वनमा रहेका जनावर र पशुपंक्षी खानाको खोजीमा बस्ती पस्दा किसानलाई नोक्सान हुने गरेको छ”, उनले भने, “जनावर र पशुपंक्षी वनहाताभित्रै आहाराको व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेका छौं, हामीलाई नेपाली सेनाको अरिदमन गणले सहयोग गरिरहेको छ, म उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन्छु ।”
जनावरले आहारा नपाएपछि बस्ती पस्ने गरेको सोको न्यूनीकरण गर्न नीति तथा कार्यक्रममै समेटेर अघि बढेको उपप्रमुख पराजुलीले बताइन् । “यसले वातावरणसँगै पशुपंक्षीको संरक्षण पनि हुन्छ”, उनले भनीन ।
बिरुवा हस्तान्तरण कार्यक्रममा अर्जुनधारा–३ का वडाध्यक्ष सीताराम भट्टराई, कार्यपालिका सदस्यहरु, जनप्रतिनिध, वन समूहका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
अर्जुनधारा नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको नगरपालिका प्रेस संयोजक नन्दलाल खतिवडाले बताए । नगर क्षेत्रमा सात वटा सामुदायिक वन छन् । उपलब्ध भएका बिरुवा सकेसम्म सबैतिर वितरण गर्ने योजना रहेको जनाइएको छ ।