झापा : डिभिजन वन कार्यालय झापाले गत आर्थिक वर्ष २०८०÷ ८१ मा रू एक करोड ३६ लाख ४१ हजार नौ सय ७६ राजश्व संकलन गरेको छ ।
कार्यालयले निजी तथा सामुदायिक वनले काठ बिक्री गरेवापत कूल रू एक करोड २४ लाख ३८ हजार छ सय ४४ र प्रदेश सेवा शुल्क वापत रू ११ लाख ७६ हजार तीन सय ३२ राजश्व संकलन गरेको जनाएको हो ।
झापामा गत वर्ष आवमा निजी तथा सामुदायिक वनले विभिन्न जातका चार लाख ५३ हजार सात सय ५२ क्युविक फिट काठ बिक्री गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
कार्यालयको सुचना अधिकारी अन्जना पुरीका अनुसार जिल्लामा निजी वनतर्फ तीन लाख ११ हजार आठ सय ६७ क्युविक फिट र सामुदायिक वनतर्फ एक लाख ४१ हजार आठ सय ८५ क्युविक फिट काठ बिक्री भएको छ । त्यस्तै, मुद्दा, बेवारिसे तथा सडकमा फेला परेका दुई हजार पाँच सय ७१ क्युविक फिट काठसमेत बिक्री गरिएको छ ।
यस्तै, निजी वनबाट दाउरा एक हजार १४ चट्टा र सामुदायिक वनबाट तीन सय नौ चट्टा काठ बिक्री भएको छ ।
झापामा १८ हजार ६५ हेक्टर वन क्षेत्र रहेको छ । जसमा १५ हजार आठ सय ३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् ।