बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडाबाट चोरी गरिएका सामान र एक थान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति अन्दाजी १०ः१० बजे मिलडाँडास्थित इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडेर चोरी भएको प्रहरी चौकी शनिश्चरेलाई शनिबार जानकारी भएको थियो ।

तत्काल प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा खोजतलास गर्ने क्रममा शबिार राति १०ः३० बजे अर्जुनधारा ४ स्थित देवान चोकबाट शंकाष्पद अवस्थामा स्थानीय छिरिङ तामाङको घरमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । प्रहरीका अनुसार अर्जुनधारा ४ का १९ वर्षीय आदित्य लिम्बूको साथबाट चाँदीको सिक्री १ थान, नेपाल टेलिकमको ५० दरको रिचार्ज कार्ड १९ थान फेला परेको थियो ।

यस्तै, २२ वर्षीय छिरिङ तामाङको साथबाट चाँदीको औँठी र चाँदीको पाउजु २(२ थान र चाँदीको सिक्री १ थान, एनसेलको ५० दरको रिचार्ज कार्ड ५ थानसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, २१ वर्षीय निखिल तामाङको साथबाट चाँदीको सिक्री १ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुले चोरी गर्दा प्रयोग भएको खुकुरी किराना पसलबाट बरामद गरिएको जनाइएको छ ।