झापा : झापाको पवित्र कनकाईमाई कोटिहवनमा दर्शनार्थीको घुइँचो बढेको छ । आज साउनको अन्तिम सोमबार कोटिहवन स्थित शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको हो । 

साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि कनकाई माईधाममा सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको थियो । 

कोटिहवनमा साउन महिनाको हरेक सोमवारका दिन जल चढाउन आउने भक्तजनलाई लक्षित गरि यस बर्षबाट कनकाई आरती सुरु गरिएको थियो । 

कनकाईधाम कोटीहोम परिसरमा प्रत्येक साता सोमबार कनकाई आरती सहित भजनकिर्तनको कार्यक्रम आयोजना गरिएको थियो । 

गंगा आरतीकै शैलीमा आयोजना गरिएको यस बर्षबाट सुरु गरिएको कनकाई आरती भक्तजनहरुको आकर्षण बनेको थियो । प्रत्येक सोमबार यो महिना उल्लेख्य मात्रामा भक्तजनहरु दर्शनकालागि आएको कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए । 

तालिमप्राप्त ३ जना साधकले हरेक सोमवार कनकाई आरती गरेको र देशकै चर्चित भजन गायकहरुबाट मन्दिर परिसरमा भजनकिर्तन र शिव ताण्डव नृत्यको समेत आयोजना गरिएको संस्थाका अध्यक्ष थापाले बताए । 

साउन महिना भगवान शिवको महिना र सोमबार भगवान शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान्दशिवको पूजा, आराधना गरिन्छ ।

सोमवारको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले इच्छाएको काम पूरा हुने धार्मिक विश्वास छ ।