बिर्तामोड : छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडले बिर्तामोडका दुई जनालाई पक्राउ गरेको छ ।
झापाको बिर्तामोड २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा बिर्तामोड स्थित पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र सोही कम्प्युटर इन्टिच्युटकका शिक्षक नारायण खनाललाई पक्राउ गरिएको इप्रका बिर्तामोडका डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।
कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि उनीहरुले यौनजन्य दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको डिएसपी विष्टको भनाई छ ।
प्रहरीका अनुसार मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरुलाई विभिन्न स्थानमा घुमाउन लाने, आइफोन किनिदिने जस्ता प्रलोभन देखाउने गरेको र संवेदनशील अंगमा छुने,सुम्सुम्याउने गर्ने गरेका थिए ।
यदि उनीहरुले भनेको नमाने ओजेटीको प्रमाणपत्र नदिने जस्ता त्रास देखाएको बताइन्छ । त्यस पश्चात विद्यार्थीले अभिभावकलाई सुनाएका थिए । लगत्तै अभिभावकले विद्यालयका प्रधानाध्याकलाई जानकारी गराएसंगै प्रहरीकोमा जाहेरी दिएका थिए । उनीहरुलाई हिजो सांझ पक्राउ गरिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका उनीहरु विरुद्ध वाल यौन दुरुपयोग मुद्धा दर्ता गरिएको डिएसपी विष्टको भनाई छ । पक्राउ परेकालाई म्याद थप गरी घटनाको बिषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।