बिर्तामोड : 

झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन् । कक्षा ६ मा अध्ययनरत छात्रा अञ्जली गुरुङलाई कक्षाकार्य गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतीराज निरौलाले पाइपले पिटेका हुन् । कुटपिटबाट घाइते उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

छात्राको कम्मरमाथिको भाग डडेल्नोमा तीनवटा नीलडाम छन् । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् ।

उनी शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका सचिवसमेत हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताएका छन् ।

बुधवार कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो । विषय शिक्षक निरौलाले कक्षाकार्यका लागि सबै विद्यार्थीलाई अह्राए । अञ्जली त्यत्तिकै बसेकी थिइन् ।

शिक्षक निरौलाले अञ्जलीलाई सोधे, ‘तिमी क्लास वर्क गर्दैनौँ ’ उनले शिक्षक निरौलालाई जस्ताको त्यस्तै जवाफ फर्काइन्, ‘आउँदैन सर ।’ शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले ‘ड्याम कि ड्याम’ हिर्काएको अन्य विद्यार्थीहरुले बताएका छन् । जसबाट अञ्जलीको डडेल्नोमा तीनवटा नीलडाम बसेका छन् ।

घाइते अञ्जलीलाई विद्यालय हाताबाटै एम्बुलेन्सले उपचारका लागि अस्पताल ल्याएको थियो । विद्यालयका प्रधानाध्यापक भवानी थापाले शिक्षक निरौलाले गम्भीर त्रुटि गरेको स्वीकारे ।