होटल तथा गेष्ट हाउसको आडमा हुने गरेको यौन विकृति रोक्न  होटल व्यवसायी संघ झापाले सरोकारवाला निकाय समक्ष माग गरेको छ । झापाको दमक बिर्तामोड लगायतका केहि होटलहरुमा यौनजन्य गतिविधि हुने गरेको समाचार हिजो सोमबार केहि सञ्चार माध्यममा प्रकाशन भएको थियो । 

त्यस पश्चात होटल व्यवसायी संघ झापाले आज एक बिज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधि भए नभएको यकिन गरी कारवाही गर्न प्रशासन समक्ष माग गरेको हो । 

संघको अध्यक्ष इन्दिरा श्रेष्ठद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा सञ्चार माध्यममा उल्लेख भए बमोजिम  होटलमा विकृति तथा यौनजन्य गतिविधि  भए नभएको विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरिएको छ । 

विभिन्न संचारमाध्यमका समाचारमा उल्लेख भएका विषयमा अविलम्व सत्य तथ्य छानविन गरी कानुनी कारवाहीको दायरामा ल्याउन संघले प्रेस विज्ञप्तिमार्फत माग गरेको हो । 

झापा जिल्लावाट प्रकाशन हुने विभिन्न अनलाइन समाचार, दैनिक पत्रपत्रिकाहरुमा विर्तामोड, दमक सहित अन्य विभिन्न ठाउँमा सञ्चालन भएका होटल, लज, डान्सवारमा खुलेआम यौन धन्दा हुने गरेको बिषयमा समाचार प्रकाशन भएपछि संघले विज्ञप्ति निकालेको हो । 

सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँदै त्यस्ता गलत व्यवसाय सञ्चालन गर्ने होटल तथा सञ्चालकहरुलाई कारवाही माग गर्दै र त्यस्ता गतिविधि निरुत्साहित गर्न र दोषी भए दोषीलाई कानुनी कारवाही गर्न संघले माग गरेको छ । 

यदि यो समाचार सत्यतथ्य हो भने समाजमा देखिएका यस्ता विकृति विसंगति नियन्त्रण गर्ने जिम्मा कसले लिने ? भन्ने प्रश्न समेत संघले अघि सारेको छ ।  

संघले सबै होटल व्यवसायीहरुलाई एकै नजरले नर्हेन पनि अनुरोध गरेको छ । विज्ञप्तिमा सत्य र तथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गर्न पत्रकारहरुलाई समेत अनुरोध गरिएको छ ।


abb96ea6-87fb-4dc5-96ba-f4bf8a0bdf99-768x1024