भद्रपुर : तीज पर्वको अवसर पारेर नेपाल महिला संघ भद्रपुर नगर समितिले विभिन्न क्षेत्रमा योगदान दिने संघर्षशील महिलाको पहिचान बनाएकाहरूलाई सम्मान गरेको छ ।

संघकी भद्रपुर नगर सभापति प्रमिला कोइरालाको अध्यक्षता तथा नेपाली काँग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा श्रमिक महिला, शिक्षक, प्राध्यापक लगायत क्षेत्रमा संघर्ष गरी पहिचान बनाएका महिलाहरूलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुने महिलाहरूमा विभिन्न क्षेत्रबाट पहिचान बनाएका प्रभा घिमिरे पूर्व प्र।अ। कमला पोखरेल दाहाल पूर्व प्राध्यापक, शान्ता वराल, वाणिज्य बैंककी पूर्व प्रमुख, रीमा पाण्डे पूर्व नर्स, सुधा खड्का भद्रपुर नगरपालिकाकी पूर्व प्रशासकी अधिकृत, रञ्जु शर्मा सामाजिक अभियान्ता, लक्ष्मी घिमिरे पूर्व स्वास्थ्य स्वयमसेविका र शुशिला पौडेल महिला सौन्दयै कला व्यवसायीलाई सम्मान गरिएको थियो ।

यसैगरी श्रम क्षेत्रमा संघर्ष गर्दै जीवनयापन गरिरहेका भद्रपुर नगरपालिकाका १० वटै वडाबाट एक एक जना श्रमिक महिला छनौट गरी नगद तथा साडी सहित सम्मान गरिएको थियो ।