झापा । 

प्रहरीले पूर्वीनाका काँकडभिट्टाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार हिजो साँझ आधा घण्टाभित्र मेची पुलमा चार जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरुमा तीन नेपाली र एक भारतीय रहेका छन् । साँझ ७ः४५ बजे पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँचथर फिदिम १० स्थायी घर भई हाल मोरङ बेलबारी ४ बस्ने २८ वर्षीय विरेन लोवा पक्राउ परे । लोवामाथि शंका लागेर प्रहरीले चेकजाँच गर्दा मलद्वारभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा १० ग्राम ६७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 त्यस्तै, साँझ ७ः३० बजे मेची पुलमा भारतबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका भारतको जलपाइगुडी बाँदरहाट बस्ने २२ वर्षीय मनोज शर्मा १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

साँझ ७ः५५ बजे मेची पुलमै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक ९ बस्ने २४ वर्षीय तिलक मग्रान्ती १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यसैगरी, राति ८ बजे मेची पुलमै सप्तरी सुरुङ्गा नगरपालिका १ सिसुवारी बस्ने २२ वर्षीय एलन बिष्टलाई ७ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।