बिर्तामोड (डिभिजन वन कार्यालय झापाले वन उद्योगमा आधारित आयमूलक कार्यक्रम सञ्चालनका लागि सामुदायिक वनलाई मेसिन हस्तान्तरण गरेको छ ।

वनमा खेर गइरहेको सालको पातबाट दुना टपरी बनाउने गरी डिभिजन वन कार्यालयले सामुदायिक वनलाई मेसिन उपलब्ध गराएको हो ।

वन उद्यममा आधारित आयमूलक कार्यक्रम अन्तर्गत बुधबार डिभिजन वन कार्यालयले झापाको मेचीनगरस्थित मागुरमाडी सामुदायिक वन बिट नम्बर २ लाई मेसिन हस्तान्तरण गरेको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले खेर गइरहेको सालको पातबाट दुना टपरी बनाएर सामुदायिक वनहरुले आम्दामी लिन सक्ने बताउँदै रोजगारीका अवसरहरू पनि सिर्जना हुने बताए ।

जातीय परम्पराका लागि नेपाली समुदायमा दुना टपरी प्रयोग गर्ने चलन रहिआएको छ । प्लास्टिकका सामानको खपत घटाउन पनि दुना टपरीको प्रयोग बढाउनुपर्ने आवश्यकता बढ्दै गएको छ ।

वन अधिकृत अञ्जना पुरीका अनुसार यसअघि डिभिजन वन कार्यालयले जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई पनि गतवर्ष मेसिन उपलब्ध गराएको थियो ।

पाँच लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने यो मेसिनको सहायताले दुना टपरी बनाउन सहज हुने अपेक्षा गरिएको वन अधिकृत पुरीले बताइन् । झापामा ५९ वटा सामुदायिक वन छन् ।