बिर्तामोड(नगर विकास योजना अन्तर्गत बिर्तामोड नगरपालिकाले बिहिबार एकसाथ सातवटा योजना शिलान्यास गरेको छ । नगर क्षेत्रका ६ वटा सडक र एउटा सामुदायिक भवनको एकसाथ शिलान्यास गरिएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले सहरी विकास मन्त्रालयबाट उपलब्ध हुने बजेटका आधारमा ६ वटा सडक र एउटा सामुदायिक भवनको शिलान्यास गरेकी हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर क्षेत्रभित्र बाटोघाटो धेरै रहेको बताइन् । बजेट अभावमा अपेक्षाअनुसार काम गर्न चुनौती भएपनि पूर्वाधार निर्माणको क्षेत्रमा नगरले धेरै प्रगति गरेको उनको तर्क छ ।

महिला मेयर भएका स्थानीय तहलाई सहरी विकास मन्त्रालयले थप २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर, पछिल्लो समय बजेट अभावका कारण १३ करोड रुपैयाँ मात्र उपलब्ध भएको जनाइएको छ ।

उपलब्ध बजेटका आधारमा सडक र सामुदायिक भवनको ठेक्का लगाइएको भए पनि निर्माण कम्पनीले करिब ३५ प्रतिशत न्यूनतम् मूल्यमा ठेक्का प्राप्त गरेको छ । सातवटै योजनाको एकीकृत ठेक्का लगाइएको हो ।

शान्ति उद्देश्य निर्माण सेवाले ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायी नयन बरालले बजेट निकासा भए छ महिनाभित्र सबै योजनाको निर्माण कार्य पुरा गर्ने बताए । करिब १८ महिनाभित्र ती योजना पूरा गर्नुपर्ने सर्त सम्झौता छ ।

नगर उपप्रमुख नगेन्द्र संग्रौला विकास निर्माणका काममा गुणस्तरका विषयमा कुनै सम्झौता नहुने बताउँछन् । शिलान्यास कार्यक्रममा बोल्दै उपप्रमुख संग्रौलाले सीमित स्रोत साधन र बजेटको उपलब्धता लगायतका कारण अपेक्षाकृत रुपमा काम गर्न मुस्किल परेको बताए ।

उनले पछिल्लो पाँच वर्षमा १०४ किलोमिटर सडक निर्माण भएको जानकारी दिए । एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले तोकिएको समयभित्र गुणस्तरीय ढंगले सडक पूर्वाधार निर्माणको काम सम्पन्न हुनुपर्ने बताए ।

विकास निर्माणमा राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै अध्यक्ष भट्टराईले बाटो साझा भएकोले कतैबाट विरोध गर्न नहुने बताए । इञ्जिनियर सुरेश चौधरी सुरुमा २० करोडको बजेट स्टिमेट भएपनि पछिल्लो समय बजेट घटेर आएको बताए ।

उनले निर्माणाधीन सडकको गुणस्तर कायम गर्न जोड दिँदै नियमित अनुगमन जाँचका लागि सुपरभाइजर खटाइएको जानकारी दिए ।