अर्जुनधारा,
झापाको अर्जुनधारा–१ साधुटारस्थित शंकराचार्यपीठमा सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायागको आयोजना गरिने भएको छ ।
आज शुक्रबार शंकराचार्यपीठ व्यवस्थापन समितिद्वारा  आयोजित पत्रकार भेटघाटमा माघ १ गतेदेखि ११ गतेसम्म
महायाग एवम् गरुड महापुराण पाठ प्रवचनको आयोजना गरिएको जानकारी दिइएको हो । 

भगवान शिवको पूजाआराधना, अभिषेकले सबै दुःख नष्ट हुने, सुख प्राप्ती हुने र अन्त्यमा मुक्ति प्राप्त हुने हुँदा कोशी प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको सो महायागको माध्यमबाट सबैको कल्याण हुने समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए । 

यज्ञहरु यत्र तत्र सर्वत्र भइरहे पनि यज्ञमा अपनाउनुपर्ने मन्त्रशुद्धि, भावशुद्धि, द्रव्यशुद्धिमा कमी हुँदा दैनिक जसो अत्यन्त दुःखद घटना बढिरहेको वर्तमान अवस्थामा यस महायागको विशेष महत्व रहेको हुँदा पवित्र मन,श्रद्धा, निष्ठा, विचार र पूर्ण आस्था राखेर सबै सहभागी हुनुपर्नेमा अध्यक्ष खतिवडाले जोड दिएका छन् ।

अध्यक्ष खतिवडाका अनुसार महायाग आयोजना गर्नुको अर्को उद्देश्य वि.सं.२०३३ सालमा स्थापना भएको शंकराचार्यपीठको ४९औं स्थापना दिवससँगै आगामी २०८२ सालमा हुने संस्थाको स्वर्ण जयन्तीको तयारी स्वरुपभएको बताइएको छ ।
१५१ जना पण्डित सहभागी हुने महायाग सम्पन्न गर्न अनुमानित दुई करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ । 

दाताहरुको दान र सहयोगबाट स्रोत जुटाउने लक्ष्य लिएको समितिले महायागबाट बचत भएको रकमले शंकराचार्यपीठ अन्र्तगत रहेको शंकराचार्य वेदवेदाङ्ग संस्कृत पाठशाला(गुरुकुल)को संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोड अक्षयकोष स्थापना गर्ने महाअभियानलाई सहयोग पुग्ने बताइएको छ ।

यसैबिच शंकराचार्यपीठ परिसरमा हुने महायाग यज्ञस्थलको भूमिपुजन गरिएको छ । शंकराचार्यपीठका संस्थापक एवम् प्रमुख संरक्षक केदारनाथ खतिवडाको नेतृत्वमा भएको यज्ञस्थलमा सुनको फालीजडित हलोबाट सो क्षेत्रमा सांकेतिकरुपमा हलो जोतिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले शंकराचार्यपीठले लिएको लक्ष्यलाई  झापाली पत्रकारहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संस्थाका प्रमुख संरक्षक केदारनाथ खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रमको औचित्य माथि समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन महासचिव हरिप्रसाद नेपालले गरेका थिए ।