झापा । 

सुदुरपश्चिम प्रदेशको धनगढीमा भदौ २० गते सामसुङ नेपाल र आइएमएस प्रालिद्वारा आयोजित रिटेलमिटमा गम्भीरतापूर्वक विषय उठान गर्दा कम्पनीका प्रतिनिधिहरुबाट गरिएको ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल मोवाइल व्यवसायी महासंघ झापाले जनाएको छ ।

केन्द्रीय समितिले मोवाइल उत्पादक कम्पनी तथा इम्पोर्टरबाट बिक्री मार्जिन सम्बन्धी गरिएको निर्णयलाई कार्यान्वयमा लैजान गरिएको आग्रह विपरित भएको उक्त अमर्यादित घटना पछि देशभरका मोवाइल ब्यवसायी आक्रोसित भएका हुन् ।

झापा जिल्ला कार्यसमितिका अध्यक्ष युवराज निरौलाको हस्ताक्षरमा जारी ऐक्यवद्धता प्रेस विज्ञप्तिमा सुदुरपश्चिम प्रदेशको धनगढीमा भदौ २० गते सामसुङ नेपाल र आइएमएस प्रालिद्वारा आयोजित रिटेलमिटमा गम्भीरतापूर्वक विषय उठान गर्दा कम्पनीका प्रतिनिधिहरुबाट गरिएको ब्यवहारप्रति नेपाल मोबाइल ब्यवसायी महासंघ झापा जिल्ला कार्यसमितिको पनि गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘महासंघ केन्द्रले संस्थागत निर्णय गरी उठाउँदै आएको मार्जिनको विषयमा ब्यवसायीहरुले रिटेल मिटमा आयोजक कम्पनीका प्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनु अस्वभाविक होइन । कुनै पनि कम्पनीको ब्यवसायिक भेटघाटमा यस्ता विषय उठ्नु पर्छ, रिटेल मिटको एउटा उद्देश्य भनेको बिक्रेताको गुनासो सुनवाई गर्नु पनि हो ।

तर कम्पनी पक्षले उठेका विषयलाई स्वाभाविक र सहज ढंगले सम्बोधन गर्नुको साटो सामसुङ नेपाल र आईएमएस प्रालिबाट कार्यक्रमको वातावरण नै खलबलिने स्थिति सृजना गरिएको घटनाप्रति हामी झापाली व्यवसायीहरु पनि आपत्ति प्रकट गर्दछौं’ ऐक्यवद्धता प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सुदुरपश्चिमका व्यवसायीहरुले उठाएको विषयप्रति झापाका व्यवसायीहरुको पनि समर्थन रहेको प्रष्ट्याउँदै ऐक्यबद्धता विज्ञप्तिमा ब्यवसायीका माग र मुद्दाका विपरीत फेरि पनि कुनै गतिविधि भएमा जस्तोसुकै कठोर निर्णय लिन मोवाइल ब्यवसायीहरु एकैठाउँ उभिने  चेतावनी दिइएको छ ।