झापा

झापाको मेचीनगर–९ मा बरामद गरिएको जंगली हात्तीको अंग परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइए डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

हात्तीको अंग हो–होइन विषयको यकिन गर्न प्रयोगशाला पठाइएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन ।  गत बैशाख ४ गते दुवै दाह्रा काटिएको अवस्थामा मेचीनगर नगरपालिका–११ स्थित कालीका सामुदायिक वनभित्र हात्ती मृत फेला परेको थियो । बरामद भएको अंग सोही हात्तीको हो–होइन भन्ने यकिन  गर्न पनि प्रयोगशाला पठाइएको उनले बताइन । 

सोमबार मेचीनगर–९ का खगेन्द्र चापागाई हात्तीको अंग सहित वनका कर्मचारीले पक्राउ गरिएको थियो । डिभिजन वन कार्यालय झापा, सब डिभिजन वन कार्यालय धाइजन र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले कोठामा भण्डारण गरेर राखेको अवस्थामा आठ किलोग्राम भन्दा बढी हात्तीको शरीरको विभिन्न भागका अंगसहित पक्राउ गरेको थियो ।

वैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवालाई छातीमा देखिने दाग हटाउने औषधि भन्दै ती अंगहरुको चुर्ण बनाएर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चापागाईलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी पुरीले बताइन ।