झापा, 

 झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा धमाधम गरिरहेको छ ।

जस अन्तरगत संस्थाले तेश्रो ईकाइगत साधारणसभा मंगलबार दमकमा सम्पन्न गरेको हो ।

आइतबारदेखि इकाइगत सभा शुरु भएको संस्थाको सोमबार मोरङको पथरी शनिश्चरेमा दोस्रो इकाइगत साधारणसभा भएको थियो ।

मङलबार दमकमा तेस्रो सभा सम्पन्न भएको  संस्थाका आइटी विभाग प्रमुख विजय पाण्डेले जानकारी दिए ।

WhatsApp Image 2024-09-10 at 20.22.28

उनका अनुसार साधारण सभामा दमक ईकाइ अन्तर्गतका ५ वटा सेवा केन्द्रबाट सयौंका संख्यामा सदस्यहरु सहभागी भएका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५ सय ८३ रुपैया ४ पैसा बराबरको बासलात तथा आ.व. २०८१÷०८२ का लागि ११ अर्ब ७७ करोड ८६ लाख ४८ हजार १ सय ३६ रुपैया १० पैसा बराबरको अनुमानित बजेट सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मंगलवार दमक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको विशिष्ठ आतिथ्यमा तेस्रो ईकाइगत साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्दै संस्थागत प्रतिफलमा विशेष योगदान पुर्याउने ३ जना शेयर सदस्यहरु चन्द्र सापकोटा, मनोज राई र देवीमाया ओलीलाई जनही ५ हजार रुपैयाँसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाले सदस्यहरुका लागि प्रदान गर्दै आएको उपचार वापतको राहत रकम ९ जनालाई हस्तान्तरण गरियो । त्यस किसिमको राहत रकम पाउनेमा मञ्जु थापा, सारदा बस्नेत, सुरज संग्रौला, रिताकुमारी अधिकारी, सन्ध्या धिमाल, मिना न्यौपाने, जानुका खड्का हिमकुमार गुरुङ र रामु सोरेन रहेका संस्थाले जनाएको छ ।

उनीहरुलाई संस्थाको सदस्य भइ सदस्य सुरक्षण कोष वापत संस्थाको नियमानुसार बिरामको प्रकृति अनुसार राहत रकम प्रदान गरिएको हो ।

कार्यक्रममा संस्थाको नीति तथा भावि कार्यक्रमबारे कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए ।

बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम, पाँचथर र मोरङ जिल्लाका ६० वटा सेवा केन्द्र मार्फत सिम्रिकले सेवा दिइरहेको छ ।