झापा । 

झापामा सशस्त्र प्रहरीले साढे ८ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।   सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको   सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेको टोलीले मेचीनगर नगरपालिका  ६ तुर्केनी सीमा इलाकाबाट सो कपडा बरामद गरेको हो ।  

गएराति ११ बजेको समयमा ८ लाख ४६ हजार ८ सय ५० बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले जानकारी दिए । 

 भारतबाट अवैध रुपमा भन्सार छलेर कपडा नेपाल भित्र्याउँदै गरेको विशेष सूचनाको आधारमा सशस्त्रको टोलीले टिनले छाएको कच्ची गोदाममा लुकाइछिपाई राखेको अवस्थामा उक्त कपडा बरामद गरेको जनाएको छ । 

बरामद गरिएको कपडालाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय पठाइएको डीएसपी पोखरेलको भनाई छ । सशस्त्रले चालु आर्थिक वर्षको साउनदेखि भदौ २५ गते सम्ममा २ करोड ४३ लाख ६६ हजार ४१ रुपैयाँ बराबरको अवैध समान बरामद गरिसकेको जनाएको  छ ।

साउनमा १ करोड २९ लाख २६ हजार ४३ रुपैयाँ र भदौ २६ गते सम्ममा १ करोड १४ लाख ३९ हजार ९ सय ९८ रुपैयाँ बराबरको समान बरामद गरिएको डीएसपी पोखरेलले बताए ।