बिर्तामोड,
झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन् ।
फुड पोइजन हुँदा ५९ जना बिरामी परेका थिए । त्यसमध्ये अहिले बिहानसम्म ५२ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
अर्जुनधारा ९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो ।
प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन् ।
बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भएको थियो ।
त्यस्तै, केहीको बिर्तामोडस्थित बिएन्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।