बिर्तामोड

झापाको भद्रपुरमा हुने कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगितामा ९४ जना खेलाडीले दर्ता गरेका छन् ।

आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार पुरुष खुला डबल्समा २१ जोडी र भेट्रान्स डबल्समा २६ जोडीले प्रतियोगितामा भाग लिन नाम दर्ता गराएका छन् ।

भदौ २८ गतेदेखि ३० गतेसम्म भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ढकालले बताए ।

प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स ९१०० प्लस० गरी दुई विधामा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट १६ र्‍यांकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् ।

भेट्रान्स डबल्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

पहिलोपटक हुन लागेको प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको अध्यक्ष ढकालले जानकारी दिए ।