अर्जुनधारा
झापा अर्जुनधारा ११ नम्बर वडाले पशु बिमा कार्यक्रमलाई निरन्तरता दिन थालेको छ । वडाबासीको पशु धनलाई सुरक्षित गर्न जनप्रतिनिधिले पशु बिमा कार्यक्रमलाई निरन्तरता दिन थालेको जनाएको छ ।
गतवर्ष गरिएको पशु बिमा कार्यक्रम प्रभावकारी भएपछि यसवर्ष पनि निरन्तरता दिइएको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनामले बताए । आजदेखि वडाको ३ नम्बर टोलबाट पशु बिमा कार्यक्रम सुरु गरिएको छ ।
गतवर्ष वडाका ४६० वटा गाईभैँसीको पशु बिमा गरिएको वडा सदस्य केशव अधिकारीले जानकारी दिए । यसवर्ष उक्त संख्यालाई बढाउँदै झण्डै दोब्बर बनाइने वडाको लक्ष्य रहेको उनले बताए । ९० हजारबराबरको गरिने बिमामा कृषकले मात्र १० प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ । नगरपालिकाले ८० र वडा कार्यालयले १० प्रतिशत बिमावापतको रकम अनुदान किसानलाई उपलब्ध गराएको छ ।