बिर्तामोड । 

नारी सञ्चार गृह झापाको आयोजनामा आज  बिर्तामोडमा खाद्य स्वच्छता,  सुरक्षा र सरोकारवालाको भूमिका सम्बन्धी अन्तर सम्वाद कार्यक्रम गरिएको छ । 

झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित सहभागिले राखेका जिज्ञासाको  प्रमुख जिल्ला अधिकारी बास्तोला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख सुवासचन्द्र वस्ती, पशु क्वारेन्टाइन कार्यालय काकरभिट्टाका प्रमुख मुकेशकुमार सिंह, खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका खाद्य प्राविधिक दिनेश ढुङ्गाना, कृषि उपज बजार व्यवस्थापन समिति अध्यक्ष निरजकुमार ओली लगायतले जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले ६ बुँदे सामूहिक प्रतिबद्धतासमेत जारी गर्दै प्रमुख जिल्ला अधिकारीलाई हस्तानतरण गरेका छन् । 

यस्ता रहेका छन् प्रतिबद्धता ः

१. संघीय सरकारका जिल्लास्थित निकाय र स्थानीय सरकारको आपसी समन्वय र सहकार्य मा मानव स्वास्थ्यका लागि हानीकारक बस्तु नियन्त्रणमा पहल गर्नेछौ ।

२. नेपाल सरकारले तोकेको बाहेकका कुनैपनि विषादी आयातमा नियन्त्रण गर्दै कृषि एवं पशुजन्य उत्पादनमै शुद्धता ल्याउन पहल गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि भूमिका निर्वाह गर्ने ।

३. जैविक विषादी प्रयोगका लागि कृषकहरुलाई प्रोत्साहित गर्न र जैविक विषादी प्रयोगबाट हुने फाइदाका बारेमा सचेतना फैलाउन भूमिका खेल्ने ।

४. प्रयोगशाला व्यवस्थापन एवम दक्ष जनशक्ति वृद्धिका जिल्ला प्रशासन कार्यालयले संघीय निकायका जिल्ला स्थित सबै सरकारी निकाय, स्थानीय सरकार र सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्ने ।

५. चाडवाडको समयमा कृतिम अभाव, मिसावट, मूल्यवृद्धि, कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई निरन्तरता दिदै दोषीलाई स्पोर्ट (ठाउँको ठाउँ) कारबाही गर्ने छौ

६. असल कृषि अभ्यास र असल भेटेनरी अभ्यासका लागि आईपीएम पाठशाला सञ्चालन गर्न समन्वय र सहकार्य गर्ने ।

कार्यक्रममा जावा फलफुल तथा तरकारी उत्पादक संघका अध्यक्ष उमाकान्त ढुंगेल, बेकरी उद्योग व्यवसाय सङ्घका अध्यक्ष सुमन सिंहले, उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष शालिकराम भट्टराई, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा लगायतले जिज्ञासा तथा प्रश्न राखेका थिए । 

नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन  सचिव मायामितु न्यौपानेले  गरेकी थिइन् ।