झापा : झापाको बिर्तामोड स्थित देबी माविको प्राङगणमा पाठेघर तथा स्तन क्यान्सर जाँच सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल क्यानसर फाउण्डेशनको आयोजनामा आज महिला दिदिबहिनीहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर गरिएको हो ।
बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्वागत सहित औचित्माथि नेपाल क्यानसर फाउण्डेशनका अध्यक्ष डा. विरेन्द्र यादबले प्रकाश पारेका थिए । उनले पछिल्लो समय नेपालमा क्यानसर भयावह रुपमा फैलिंदै गएको बताए । उनले महिलाहरुलाई लक्षित गरेर आयोजना गरिएका यस्ता शिविरबाट फाइदा लिन आग्रह गरे ।
विगत दुई बर्षदेखि फाउण्डेशनले सिरहा, इलाम, पाँचथर सहित झापाका बिभिन्न स्थानमा क्यान्सर जाँच सम्बन्धी शिविर तथा सचेतना प्रदान गरिंदै आएको अध्यक्ष डा. यादबको भनाई छ ।
शिविरमा क्यानसर रोग बिशेषज्ञ डा. यादब, डा. ज्योति भाजुलामा सहित पूर्वाञ्चल क्यानसर अस्पतालको टिमले सेवा प्रदान गरेको थियो ।
आगामी ६ महिना भित्रमा करीब ४ हजार महिलाहरुको क्यानसर जाँच गर्ने लक्ष्य फाउण्डेशनले लिएको छ । र यो शिविर प्रत्येक शनिबार गर्ने जनाइएको छ ।
पुर्वाञ्चल क्यान्सर अस्पतालको मेडिकल सपोट तथा सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष प्रसाई, फाउण्डेशनको सदस्य शुभकुमाई पाठक लगायतले मनतब्य राखेका थिए । कार्यक्रमको सञ्चालन फाउण्डेशनको सदस्य प्रतिमा कार्कीले गरेकी थिइन ।
क्यान्सरबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरुका बारेमा सचेतना समेत कार्यक्रममा दिइएको थियो ।