झापाको अर्जुनधारा नगरपालिकाले शनिश्चरे नगर अस्पताललाई रु ७६ लाख बराबरको विभिन्न प्राविधिक सामग्री प्रदान गरेको छ ।  आज एक कार्यक्रमकाबिच नगरले  अस्पताललाई आवश्यक मेडिकल सामाग्री सहयोग गरेको हो ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले अस्पतालका मेशु डा. योगेश चेम्जोङलाई स्वास्थ्य उपकरण एवम् सामाग्री हस्तान्तरण गरेका हुन् । 

नगर अस्पताललाई आकस्मिक कक्ष, आइसियू,  प्रसूति सेवालगायतका विभिन्न स्वास्थ्य सेवाका लागि अत्यावश्यक प्राविधिक सामग्री उपलब्ध गराइएको नगर प्रमुख गोम्देनले जानकारी दिए । 

उनले अब नगर क्षेत्रका जनताले गुणस्तरीय सेवा नगर अस्पतालबाटै पाउने बताउंदै उपचारकालागि महंगो शुल्क तिरेर नीजि अस्पताल जानु पर्ने बाध्यताको अन्त्य भएको बताए । 

नगरले डेलिभरी बेड, इसीजी मेशिन, फोटो थेरापी मेशिन, प्यासेन्ट बेड, एक्सरे मेशिनलगायतका सामाग्री अस्पताललाई प्रदान गरेको जनाइएको छ ।  

नगर प्रमुख गोम्देनको  पहलमा संघीय सरकारले उपलब्ध गराएको सामाग्री अस्पताललाई दिइएको हो । 

नगर अस्पतालमा  आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा बिस्तारित शल्यक्रिया सेवा शुरु भए पश्चात पहिलो प्रसुति सेवा लिने अर्जुनधारा–८ का राज, शिवानी पूर्वे र उनीहरुको शिशु प्रथम पूर्वेलाईसमेत नगरले सम्मानसहित पौष्टिक आहार  वितरण गरेको छ ।  

आर्थिक बर्ष २०८०÷०८१ मा बिभिन्न सेवा अन्तरगत अस्पतालबाट  ३ लाख ३५ हजार ३९५ जनाले सेवा लिएको  अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले जानकारी दिए । अस्पतालबाट चालु आर्थिक बर्षको २ महिनाको अवधि सम्ममा मात्रै ७८ हजार ६६७ जनाले बिभिन्न सेवा लिएका छन् ।