इलाममा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने झापामा एकजना बेपत्ता छन् ।
इलामको माई नगरपालिकामा ८ स्थित सेते खोलाले बगाएर स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो ।
खोला तर्ने क्रममा बगाइरहेको अवस्थामा स्थानीयले देखेर लिम्बूलाई बगाएको ठाउँदेखि अन्दाजी ७० मिटर दक्षिण उद्धार गरेका थिए ।
उनलाई स्थानीय माई अस्पताल दानाबारीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।
यता झापाको कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् ।
कचनकवल–१ झकुवाटोली बस्ने पचु राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी हुन् । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको जनाईएको छ ।