बिर्तामोड । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको आयोजनामा आज बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल औषधि व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा सञ्चालित सो स्वास्थ्य शिविरबाट १८४ महिला र ६५ पुरुषसहित २४९ जना लाभान्वित भएका छन् ।
नेपाली सेना तथा जिल्लास्थित विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीहरुबाट हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, नाक–कान–घाँटी र साधारण मेडिकल सम्बन्धी रोगका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।
शिविरमा फिजिसियन डक्टर सिपी यादव, नाक–कान–घाँटी रोग विशेषज्ञ डक्टर रणधीर राजवंशी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डक्टर रितेश थपलिया, स्त्री रोग विशेषज्ञ डक्टर उपासना कोइराला लगायतले स्वास्थ्य जाँच गरेका थिए ।
सो अवसरमा सदरमुकाम तथा सहरी क्षेत्रबाट टाढा रहेका र सुविधासम्पन्न अस्पताल एवम स्वास्थ्य सेवाको अभावमा रहेका स्थानीयहरुलाई विभिन्न रोगसम्बन्धी निःशुल्क उपचारका बारेमा जानकारी पनि दिइएको थियो ।
त्यस्तै, मनसुनजन्य रोग, हाइजिन एन्ड सेनिटाइजेसन लगायत सर्पदंश सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको शिविर लाभदायक र प्रभावकारी रहेको गणपति बस्न्यातले जानकारी दिए ।