बनियानी
झापामा पछिल्लो समय आएको अविरल वर्षाका कारण कृषि क्षेत्रमा रू पाँच करोड २१ लाख बढीको क्षति भएको छ ।
गत असोज ९ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्न–तरकारी बालीमा क्षति पु¥याउँदा रू पाँच करोड २१ लाख ५१ हजार नौ सय बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
“अहिलेसम्म पाँच वटा पालिकाको क्षति विवरण आएको छ”, उहाँले भन्नुभयो, “विवरण संकलन गर्ने काम जारी छ ।” क्षति विवरण अझै बढ्ने उहाँले बताउनुभयो ।
झापा गाउँपालिका ४० दशमलव ५ हेक्टरमा लगाएको धान बाली क्षति हुँदा रू ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धान बालीमा क्षति हुँदा रू एक करोड ७७ लाख ९२ हजार तीन सय,
भद्रपुरमा धानबाली र तरकारी बालीमा क्षति पुग्दा रू १९ लाख २६ हजार, गौरादहमा धानबाली र तरकारी बाली गरेर रू एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र तरकारी बाली गरी रू एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।