बिर्तामोड, असोज १७ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ ।

आज भएको दोस्रो खेलमा वडा नम्बर ७ लाई सडनडेथमा हराउँदै वडा नम्बर ५ क्वार्टर फाइनल प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमा वडा नम्बर ७ का सेसेहाङ लिम्बूले गोल गर्दै अग्रता दिलाए पनि खेलको २४ औँ मिनेटमा वडा नम्बर ५ का बिक्की चौधरीले गोल फर्काएका थिए ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रकरमा पनि खेल बराबरी भएपछि सडनडेथबाट निर्णय निस्किएको थियो ।

सडनडेथमा वडा नम्बर ५ ले वडा नम्बर ७ लाई ९–८ गोल अन्तरले हराएको हो । खेलको प्लेयर अफ म्याच वडा नम्बर ५ का गोलकिप्पर राजन लामगादे भए । उनले नगद २ हजार र ट्रफी पाए ।

यसअघि भएको वडास्तरीय भेट्रान खेलमा वडा नम्बर ५ ले वडा नम्बर ७ लाई हरायो ।

पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गरुङले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् ।

विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष विकास गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव विसन लिम्बूले गरेका थिए ।