झापाको कन्काई स्थित जामुनवारी सामुदायिक वन उपभोक्ता समुह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय स्थलले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । 

जामुनखाडीले हालै भारतको सिलिगुडीमा ‘सस्टेनेवल टुरिजम डिस्टीनेशन अफ द इयर अवार्ड २०२४’ प्राप्त गरेको हो । 

विश्व पर्यटन दिवसको अवसरमा जामुनवारीले एक साता अघि आफु जस्ता थुप्रै क्षेत्रलाई पछि पादैँ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको हो । प्राप्त अवार्ड तथा पुरस्कार बारे आज सिमसार क्षेत्रमा आयोजित पत्रकार भेटघाटमा सो कुरा जानकारी दिइएको हो । 

हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कले आयोजना गरेको छैठौं हिमालयन हस्पिटालिटी टुरिजम अवार्ड २०२४ का अवसरमा विभिन्न २४ वटा विधामा पुरस्कार प्रदान गरेको थियो । 

jamun-khadi

जामुनखाडीको उक्त पुरस्कार कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रप्रसाद पोखरेल, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, जामुनबारी सामुदायिक वन उपभोक्ता समिति, जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रका सचिव दिपक ओली, सल्लाहकार सदस्य अनिरुद्र ओली र अशोक न्यौपानेले संयुक्तरुपमा ग्रहण गरेका थिए । 

यसअघि २०२३ को हिमालय ल्याण्डस्कप नेपाल र सन् २०२२ को पर्यटकमैत्री ग्रामीण पर्यटकीय पुरस्कार इलामको पर्यटकीय क्षेत्र कन्यामलाई यो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको थियो । 

Capture

नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्यप्रसाद थपलिया र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको पहलमा जामुनखाडीलाई उक्त अवार्ड प्राप्त भएको जामुनवारीका सचिव दिपक ओलीले जानकारी दिए । 

नेपाल पर्यटन बोर्ड र निवर्तमान अध्यक्ष श्रेष्ठले भारतका पश्चिम बंगाल बिहार राज्य नजिक रहेका नेपालका आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेका क्षेत्रलाई सिफारिस गरिएको थियो ।

सिफारिस पश्चात आयोजकले विभिन्न मापदण्ड बनाएर एउटालाई छनौट गर्ने गरेको छ । यो अवार्डले जामुनखाडी  पर्यटकीयक्षेत्रको प्रवद्धनमा महत्वपूर्ण भूमिका खेल्ने र कोशेढुंङ्गा सावित हुने विश्वास लिइएको जामुनबारीका अध्यक्ष पर्शुराम गिरीले बताए । 

पत्रकार सम्म्ेलनमा जामुनवारीको उपाध्यक्ष रेनुका खवास, सल्लाहकार अनिरुद्र ओली, बुद्धिमान बोहोरा, कोषाध्यक्ष जीतकुमारी सापकोटा, कार्यसमिति सदस्य लगायतको उपस्थिति  थियो ।