झापा : चाडपर्वलाई लक्षित गर्दै झापामा ट्राफिक प्रहरीको सक्रियता बढेको छ । नेपालीहरुको महान चाड दशैं , तिहार तथा छट पर्वमा हुने भिडभाड तथा चहलपहललाई मध्यनजर गर्दै झापा ट्राफिकले चेकजाँचलाई तिब्रता दिंदै लगेको हो । 

दशैंको चहलपहल सुरु भएसंगै अहिले झापाको बिर्तामोड, कांकरभिट्टा, सुरुङ्गा, दमक लगायतका ठुला तथा अन्य साना शहर बजारमा अहिले चहलपहल तथा भिडभाड बढेको छ । 

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले योजना नै बनाएर काम गरिरहेको ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए  ।

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्नसक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना सहित काम तिब्र गतिमा गरिरहेको उनले बताए । 

प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गरिंदै आएको उनको भनाई छ । 

चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न जिल्लाका बिभिन्न स्थानमा  विशेष ‘चेकिङ’को व्यवस्था गरिएको प्रहरी निरीक्षक पौडेल बताउंछन । 

लामो तथा छोटो दूरीका सवारीसाधनबाट यात्रु ढगिन सक्ने सम्भावनलाई लक्षित गरी छड्के चेकजाँच गरिंदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ) अर्जुन प्रसाद सोडारीले जानकारी दिए । 

ट्राफिक प्रहरीले चेकजाँचको क्रममा छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने वरिष्ठ सइ सोडारीको भनाई छ । साथै  गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताए ।

यस्तै प्रहरीले सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने, लागुपदार्थ सेवन जाँच गर्ने , तिब्र गति मापन लगायतका बिभिन्न काम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव निरीक्षक (सइ) पूर्ण गौतमले जानकारी दिए ।