झापा 

कांकरभिट्टा स्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो त्रैमासिकमा लक्ष्य अनुरुप राजश्व संकलन गर्न असफल भएको छ । 

कार्यालयले वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको  हो । कार्यालयले तीन महिनामा  तीन अर्ब ५८ करोड ९० लाख ११ हजार रुपैंया मात्र राजश्व सङ्कलन गरेको छ । 

कार्यालयले गत आव २०८०÷०८१को सोही अवधिमा रु. तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन गरेको थियो ।  उक्त रकमभन्दा चालू आवको पहिलो तीन महिनामा रु. १९ करोड १७ लाख ४१ हजारले बढी हो । 

तथापी यो चालु आवकालागि बिभागले लक्ष्य बढी दिएका कारण रकम बढी संकलन भए पनि लक्ष्य भेट्न नसकिएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुंडालले जानकारी दिए । 

देशमा देखिएको आर्थिक मन्दीको असरका कारण आयात कम र निर्यात घट्दा भन्सारले लक्ष्य भेट्न नसकेको भन्सार अधिकारीको भनाई छ । 

कार्यालयलाई बिभागले चालू आव २०८१÷०८२ मा रु. १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य दिएको भन्सार अधिकृत तथा सुचना अधिकारी गणपति कँडेलले जानकारी दिए । 

आव २०८०÷०८१ मा रु. १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजश्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । 

आव २०८१÷०८२ मा गत आवको भन्दा रु. ९१ करोड ३२ लाख ४३ हजारले राजश्वको लक्ष्य घटाइएको छ ।

पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो। तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ।