झापा, 

बिर्तामोड– ३ सैनिकमोडस्थित  विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष   एक करोडभन्दा बढी नाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।  यस वर्ष शुद्ध मुनाफा कम भएपनि आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा  कमाउने  संस्थाले लक्ष्य लिएको हो ।   

१९ औं वार्षिक साधारण सभाको दुई दिनअघि हिजो संस्थाको सभाहलमा आयोजित  पूर्व तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष मोहन  शिवाकोटीले   यस वर्ष १९ लाख १५ हजार ९१५ रुपैयाँ शुद्ध  नाफा भएको जानकारी दिए । उनले १ करोड २ लाख रुपैयाँ व्याज मात्र  उठ्न बाँकी रहेकाले  त्यसको असुलीमा कडाई गरी  आगामी वर्ष १ करोडभन्दा बढी नाफा पुर्याउने लक्ष्य रहेको बताए । 

त्यस्तै २०५० महिला , १६११ पुरुष र १०२ संघ संस्था गरी कुल ३७६३ सदस्य रहेकोमा  आगामी वर्ष त्यसलाई बढाएर  ४१४० पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए । 

 हाल संस्थाको शेयर पुँजी  ५ करोड ८२ लाख ५२ हजार ३०० रुपैयाँ रहेको छ ।  ३ करोड बाह्य ऋण रहेको संस्थाले ऋणलाई शून्यमा झारेको छ ।  कार्यक्रममा  अग्रज सदस्य , सल्लाहकार र उपसमितिका सदस्यहरुलाई १९ औ वार्षिक वार्षिक साधारण सभाको तयारीका बारेमा जानकारी दिइएको थियो ।

१९ औ वार्षिक साधारण सभा भोलि अनारमनी पव्लिक क्याम्पस बिर्ताबजारमा हुँदैछ । यस वर्षको साधारण सभामा  संस्थाका उपाध्यक्ष स्व. पर्शुराम सिटौलाको  स्मृतिमा स्थापित स्व. पर्शुराम  सिटौला स्मृति पुरस्कार स्वास्थ्यकर्मी  ताहिर हुसैन मिकरानीलाई प्रदान गरिने प्रवन्धक रुद्र सिटौलाले जानकारी दिए । 

सो पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ । त्यस्तै असल बचतकर्ता गुरुभक्त न्यौपाने , असल ऋणी लक्षीमादेवी  उप्रेती र उत्कृष्ट कर्मचारीको रुपमा रीता पौडेललाई  जनही ७ हजार ५०५ रुपैयाँका दरले पुरस्कृत गरिने उनले जानकारी दिए ।

साधारण सभामा यस वर्ष पनि शेयर सदस्यका छोराछोरीमध्येबाट कक्षामा १२ मा उत्कष्ट अंक ल्याउने  दुई छात्रा र दुई छात्रलाई पुरस्कृत गरिने प्रवन्धक सिटौलाले जानकारी दिए ।  कार्यक्रममा  प्रमुख सल्लाहकार  उमानाथ ओली , सल्लाहकार गुरुभक्त न्यौपाने , ऋण उपसमितिका केशव पाठकलगायतले बोलेका थिए ।