बिर्तामोड
अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई एकतर्फी बनाउन छलफल गरिएको छ । छलफल पश्चात भित्रि सडक एक तर्फि सञ्चालन गर्ने निर्णय भएको छ ।
बिहिबार बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट कात्तिक ११ गतेदेखि भित्रि सडक एकतर्फी बनाइने निर्णय भएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । उनका अनुसार काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडमा सवारी साधन एकतर्फी दक्षिणबाट उत्तर मात्र सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे मात्र पार्किङ गर्न पाइने भएको छ ।
त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड अनलोड गर्ने ठुला सवारी साधनलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रवेश निषेध गर्ने र शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोक चोक चौबाटो सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय भएको न्यौपानेले बताए ।
छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेल, बिर्तामोड वडा नम्बर ५ का जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, हिकोला रोडका व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।