झापा,
झापामा रातो बसहरुलाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सचेतना संगै कारवाही अघि बढाएको छ ।
बसको लापरवाहीका कारण दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्दै
झापामा दुर्घटना न्युनिकरणकालागि रातो बसलाई कारबाही शुरु गरेको जनाएको छ ।
ओभरस्पीड, ध्वनि प्रदूषण र प्रतिस्पर्धा गर्ने बसहरूमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कारबाही थालेको कार्यालय प्रमुख गणेश पौडेलले जानकारी दिए ।
तीन दिनको अवधिमा जिल्लाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा ७३ वटा बसहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए । उनका अनुसार बुधवार २७ , बिहीवार १३ र शुक्रवार ३३ वटा बसहरुलाई कार्वाही गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार पहिलो पटक गल्ती गर्नेलाई ५०० , दोस्रो पटक गर्नेलाई १००० र तेस्रो पटक गल्ती दो¥याउनेलाई १५०० रुपैयाँका दरले जरिवाना लिने गरिएको छ । दुई दिन अघि झापाको कमलगाउंपालिका स्थित केर्खामा दुईजनाको मृत्यु भएको दिन पनि २७ वटा बसलाई कार्वाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शुक्रबार मात्रै मेचीनगरको कालीझोडामा ट्राफिक प्रहरीले ५५ वटा रातो र हरियो लोकल बसका चालक र सहचालकलाई अन द स्पोर्ट सचेतना प्रदान गरेको छ ।
बसका चालक र सहचालकलाई सुरक्षित यात्रा र ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गरिएको बरिष्ठ नायब निरिक्षक सोडारीले जानकारी दिए ।
ध्वनि प्रदूषण गर्ने बसहरूको प्रेशर हर्नसमेत निकालिएको प्रहरीले जनाएको छ ।
दुर्घटना न्यूनीकरणका लागि आइतवार जिल्ला प्रशासन कार्यालयमा जिल्ला यातायात व्यवस्थापन समितिको बैठक समेत राखिएको बताइएको छ । त्यस बैठकमा टाइम कार्ड लागू गर्ने विषयमा छलफल हुने जनाइएको छ ।