काठमाडौं । विश्वकप लिग–२ अन्तरगत अमेरिकामा नेपालले आज आफ्नो अन्तिम म्याच स्कटल्यान्डविरुद्ध खेल्दैछ । नेपाल जितका साथ २ अंक बटुलेर भ्रमणलाई सुखद अन्त्य गर्न चाहन्छ ।

नेपाल, अमेरिका र स्कटल्यान्डको त्रिकोणात्मक श्रृंखलाको पनि आज अन्तिम खेल हो । अमेरिका र स्कटल्यान्डले दुई–दुई जित हासिल गरेका छन् भने नेपालले एक खेल मात्र जितेको छ । स्कटल्यान्डले अमेरिकालाई दुवै खेलमा हराउँदा अमेरिकाले नेपाललाई दुवै खेलमा हरायो ।

स्कटल्यान्डलाई एक खेलमा पराजित गरेको नेपालले आज पनि सोही नतिजा दोहोर्‍याउन सकेमा तीन टिम समान जित–हारको अवस्थामा रहनेछन् ।

लिग २ मा नेपालले ११ खेल खेल्दा केवल २ वटा मात्रै जित निकाल्न सकेको छ भने ८ हार व्यहोरेको छ । बाँकी एक खेल वर्षाका कारण रद्द भएको थियो । अंक तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको नेपालका लागि यहाँबाट कमब्याक गर्न कम्ती चुनौतीपूर्ण छैन । दाउमा छ, नेपालको एक दिवसीय स्टाटस । सानो गल्ती र कमजोरी पनि टीमका लागि भारी पर्न सक्छ ।

यो त्रिकोणात्मक श्रृंखलामा तीनवटै टीमले एक अर्कालाई हराएको हुँदा को बलियो भन्न सक्ने स्थिति छैन । अमेरिकालाई घरेलु मैदानको लाभ मिल्यो । स्कटल्यान्ड पनि यस्तो कन्डिसनमा अभ्यस्त नै छ । नेपालका लागि भने यो टुर त्यति सहज थिएन । क्यानडामा ३ म्याच हारेर आएको नेपालले टि २० मा अमेरिकालाई क्लीन स्वीप गरे पनि एक दिवसीयमा भने संघर्ष गरिरहेको छ ।

पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटको साँघुरो हार व्यहोरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ५विकेटको प्रभावशाली जित निकाल्न सफल भयो । तेस्रोमा अमेरिकाले फेरि नेपाललाई ३७ रनले हरायो । अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध जित निकाल्न नसकेको खण्डमा नेपालको लिग २ यात्रा निकै चुनौतीपूर्ण अवस्थामा पुग्नेछ ।

आजको म्याच पनि नेपालका लागि सहज हुनेवाला छैन । स्कटल्यान्ड विरुद्धको अघिल्लो खेलमा बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै जितको आधारशिला बनाएका थिए । स्कटल्यान्ड १५४ रनमै अलआउट भएपछि नेपाललाई लक्ष्य पछ्याउन कठिन भएन । आजको खेलअघि नेपालले त्यही म्याचबाट प्रेरणा लिन सक्छ ।

तर, स्कटल्यान्ड पनि कमजोर मनोबलमा छैन । आफ्नो पछिल्लो खेलमा स्कटल्यान्डले घरेलु टिम अमेरिकालाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिलो इनिङमा ब्याटिङ गर्दै स्कटल्यान्डले ३१७ रनको विशाल स्कोर खडा गर्‍यो, जसलाई पछ्याउने क्रममा अमेरिका २४६ रनमै अलआउट भयो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलन एक्लैले १५१ रन हानेका थिए । नेपालका लागि पनि उनी प्रमुख खतराका रुपमा रहनेछन् ।

आज नेपालको बलिङ युनिटमा तीव्र गतिका बलर करण केसी उपलब्ध नहुन सक्छन् । उनी अमेरिकाविरुद्धको अघिल्लो खेलमा दोस्रो ओभर बलिङ गर्दागर्दै घाइते भएका थिए । १।४ ओभर मात्रै बलिङ गरेर करण बाहिरिनु परेको थियो । उनको चोटको अवस्थाबारे कुनै अपडेट गराइएको छैन । यदि करणले खेल्न नसक्ने भएमा रिजन ढकाल अतिरिक्त फास्ट बलरका रुपमा छन् । यदि अतिरिक्त स्पिनरतर्फ मोडिन चाहे ललित राजवंशी छन् । अमेरिकाको पीच स्पिनभन्दा फास्ट बलिङका लागि बढी उर्वर रहेको छ ।