बिर्तामोड ।
नेपाल मधेसी समाज सेवा समितिले झापाको बिर्तामोड–३ स्थित बिर्ताबजारमा यस बर्ष पनि छठ पूजा आयोजना गरेको छ । आज मंगलबार साँझ पूजा स्थलस्थित अदुवा किनारमा पत्रकार भेटघाट गरी पूजाको तयारीका बिषयमा जानकारी गराइएको हो ।
यस बर्ष छठ पूजाका लागि २ सय पन्डाल तयार अन्तरगत ४ सय ब्रतालुहरुका लागि डाला तयार गरिएको गरिएको नेपाल मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएका बिपन्न ब्रतालुहरुका लागि निःशुल्क डालाको ब्यवस्था गरिएको समेत अध्यक्ष मण्डलले बताएका छन् ।
छठ पूजाका लागि अदुवा खोलाको किनारको सडकमा ८५० मिटरसम्म सडकमा बिद्युतिय बत्ति बालिएको छ । बत्तिबालेसँगै उक्त स्थानमा राति टिकटक र सेल्फि लिनेको भीड लाग्ने गरेको छ । उक्त स्थलमा सांस्कृतिक कार्यक्रमका लागि स्टेज निर्माण गरिएको छ ।
पूजा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु गठन गरिएको छ । छठ पूजा सेवा समितिको संयोजकमा संजय शर्मा रहेका छन् । यसैगरी अर्थ संयोजकमा प्रकाश महत्तो, टेन्ट संयोजकमा गनु सहनी र उमेश चौधरी, घाट ब्यवस्थापन समितिमा शम्भूकुमार शाह, मोहनकुमार झा, बिवेक शाह, अमर पट्टेल, रेखदेख समितिमा कला राउत, किस्सु शाह, नरेश शाह र सल्लाहकार समितिमा दिलिप सिंह र उदय शंकर शाह रहेको बताइएको छ ।
पूजा सम्पन्न गर्न अनुमानित ७ लाख रुपैयाँ खर्च हुने र ब्रतालु, भक्तजन र स्थानीय तहको सहयोगमा आर्थिक ब्यवस्थापन गरिने साथै अपुग खर्च समितिले ब्यहोर्ने संयोजक संजयकुमार शर्माले जानकारी दिएका छन् ।
आज साँझ कोशी प्रदेश सभा सदस्य छबि चुडाल र बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले समेत उक्त पूजा स्थलको अनुगमन गरेका थिए । उक्त पूजा स्थलमा १० हजार वढी भक्तजनहरुको उपस्थिति रहने आयोजक संस्थाले अनुमान गरेको छ । अघिल्ला बर्षहरुका छठ पूजामा बिर्तामोड ३, ४ र ५ नम्बरका वडालाई लक्षित गरिएको भएपनि यस बर्ष भने बिर्तामोड नगरका १० वटै वडाका ब्रतालुहरुलाई लक्षित गरिएको बताइएको छ ।