झापा 

झापाको  बिर्तामोड– ८ प्याकुरेल चौकमा भएको आगलागीका पीडित परिवारलाई  बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयले राहत वितरण गरेको छ । आज बिहान पीडतकै घरमा पुगेर वडाध्यक्ष अजय कार्की , वडा सदस्यहरु अग्निप्रसाद सिटौला , इन्दिरा पाण्डे , सोयालाल राजवंशी , लक्ष्मी नेपालीलगायतले  ग्यास चुल्हो , खाद्यान्न , भाडावर्तनलगायत गरी २१ हजार ४००  रुपैयाँ बराबरको राहत वितरण गरेका हुन् ।

अग्नीपीडित शिवलाल गौतमको परिवारलाई  वडाका जनप्रतिनिधिहरुले राहत सामग्री हस्तान्तरण गरेका थिए । सो आगलागीबाट करिव १० लाखको क्षति भएको छ ।गएराति ८.३० बजे गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा कोठामा अचानक आगलागी भएको थियो ।

आगलागीबाट भान्सा पूर्ण रुपमा जलेर नष्ट हुँदा त्यसभित्र रहेका २ वटा ग्यास सिलिण्डर पड्किएको थियो । आगलागीबाट एउटा ग्यास चुलो, अन्य भाडाबर्तन,अन्नपात, एउटा स्कुटर र घरको दक्षिण साइडको बरण्डाको भाग समेत जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा छिमेकी मोहन तिमल्सिना घाइते भएका थिए । उनलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको छ । स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।